चन्द्रौटा(कपिलवस्तु), ३ पुस ।हेमन्ता आचार्य बचाउ अभियान समितिले घरदैलोबाट संकलित नगद ३लाख १५ हजार ४५० रूपैयाँ एक कार्यक्रमका बीच मृगौला पीडित हेमन्ता आचार्यलाई हस्तान्तरण गरेको छ ।


शितगंगा नगरपालिका ६, निवासी हेमन्ता आचार्यलाई बचाउन लेखनाथ घर्तिको नेतृत्वमा हेमन्ता बचाउ अभियान समिति गठन गरि सहयोग संकलन गरिएको थियो । अभियानमा युनिक स्वयंसेवक नेपाल धरानका टोलीको पूर्ण सहकार्य थियो । टोलीले कपिलवस्तु, अर्घाखाँची, दाङ्ग लगायतका विभिन्न स्थानमा घरदैलो गरि रकम संकलन गरिएको युनिक स्वयंसेवक नेपालकी एजिला बस्नेतले बताउनुभयो ।


टोलीद्वारा संकलित रकम शिवराज ५, सुन्दरपुरस्थित अर्घाखाँची बिमला होटल परिसरमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारूको हातबाट रकम प्रदान गरिएको थियो । रकम हस्तान्तरण गर्दै नगर उपमेयर थारूले सह्रानीय कार्यप्रति आभार प्रकट गर्नुभयो । उहाँले पीडितको स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य उपचारका क्रममा आफ्नोतर्फबाट समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।


सहयोग हस्तान्तरण कार्यक्रमका विशिष्ट अतिथि चेम्बर अफ कमर्श केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष महादेव पोखरेलले यस किसिमको मानवीय कार्यमा महत्वपूर्ण योगदान गरेकोमा यूनिक स्वयंसेवक नेपाल र हेमन्ता बचाउ अभियानप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले उपचारका क्रममा आवश्यक नैतिक, भौतिक, आर्थिक र समन्वयमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यता राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णु प्रसाद खतिवडाले सहयोग उठाउने क्रममा घरघरबाट संकलन भएको रकम जुन रूपमा उठेको थियो, त्यसरी नै ल्याएर जस्ताको त्यस्तै हातान्तरण गरेकोमा सहयोगी हातहरूलाई धन्यबाद दिनुभयो । उहाँले निस्वार्थ भावनाले आर्थिक, नैतिक, भौतिक सहयोग पुर्‍याउने सहयोगी मनहरूप्रति आभार समेत प्रकट गर्नुभयो । यस्तै कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका प्रतिनिधि सुशिला खनालले समेत मानवीय कार्यमा अभियान टोली र सहयोगी संस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यबाद दिनुभयो ।

युनिक स्वयंसेवक नेपालले यसअघि विभिन्न जिल्लाका क्यान्सर पीडित, मृगौला पीडित तथा विभिन्न रोगबाट पीडितहरूलाई ५० लाख बढीको सहयोग गरिसकेको जनाइएको छ ।।