शिक्षामा शिवराजको जोड नगरका ६६ बालविकास केन्द्रलाई सिकाइ किट
चन्द्रौटा(कपिलवस्तु), २२ मंसिर ।पछिल्लो समय शिवराज नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्दै आएको छ ।

पूर्व प्राथमिक बालबालिकाहरुको सर्बाङ्गीर्ण विकासमा टेवा पु¥याउन नगरले शिक्षालाई प्राथमिकतामा राखेको हो । सोही सन्दर्भमा नगरभित्र संचालित ६६ विद्यालयका बालविकास केन्द्रलाई सिकाइ सामग्रीसहितको किट बक्स वितरण गरिएको छ ।
बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई खेलौनासँगै सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन सिकाइ सामग्रीसहितको किट बक्स वितरण गरिएको हो । शिवराज नगरपालिका वडा नं. ५ को सभाहलमा आयोजित कार्यक्रमका बीच बालविकास सहयोगी कार्यकर्तालाई किटबक्स हस्तान्तरण गरिएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो ।
“नगरभित्र संचालित समुदायमा आधारित ६३ र मदरसा ३ गरी कूल ६६ बालविकास केन्द्रलाई सामग्री प्रदान गरेका हौं”–शिक्षा प्रमुख पन्थीले भन्नुभयो । उहाँका अनुसार अहिले ५७ वटा बालविकास केन्द्रलाई किटबक्स प्रदान गरिएको छ । ९ वटा विद्यालयलाई यसअघि नै दिइसकिएको उहाँको भनाई छ ।
किटबक्समा राखिएका सिकाइ सामग्रीबाट ६५ वटा प्रोजेक्ट तयार पार्न सकिने र यसलाई १सय ८० दिनसम्म सिकाइ सहजीकरण गर्न सकिने उहाँले बताउनुभयो ।
यता शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सिकाइ सामग्रीलाई सही सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले आफ्नो कार्यकालमा शिक्षामा आमूल परिवर्तन गर्ने अभियानमा जुटेको बताउनुभयो ।
प्रदान गरिएको सामग्रीले साना साना बालबालिकाहरुको खेलको माध्यमबाट शैक्षिक जग बसाल्नमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युनिसेफ नेपाल र स्थानीय सरकारको सहकार्य तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा शिवराजका सम्पूर्ण बालविकास केन्द्रलाई सामग्री प्रदान गरिएको हो । यससँगै १६ दिने टेलि सिकाइमा सहभागी भएका बालविकास सहयोगी कार्यकर्तालाई कदर पत्रले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























