चन्द्रौटा कपिलवस्तु । शिवराज नगरपालिकाले विभिन्न बिधामा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार वितरण गरेको छ । नगरअन्तर्गत संचालित विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठकमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित शिक्षक तथा विद्यार्थीहरूको प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगरले प्र्धानाध्यापक बैठकमा पुरस्कार वितरण गरि सम्मान गरेको हो । शिक्षा युवा तथा खेलकूद शाखाद्वारा गत भदौ २२ गते शिक्षकहरूवीच कविता प्रतियोगिता र भदौ २३ गते मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको थियो ।

प्र.अ. बैठकका बीच उत्कृष्ट शिक्षक र विद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी चौधरीद्वारा टीका लगाई पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । शिक्षकहरूबीचको कविता प्रतियोगितामा मा.वि. पिपरीका शिक्षक विजय चौधरी प्रथम, नि.मा.वि. मदवाकी महिला शिक्षक लिला खनाल दोस्रो, शिवगढी इंग्लिस स्कुल शिवपुरका प्रिन्सिपल हेमराज शर्मा तेस्रो र प्रा.वि सितलापुरका प्रधानाध्यापक कमल पौडेल सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

यस्तै मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने शिवगढी इंग्लिस स्कूल,दोस्रो हुने नेपाल आदर्श मावि र तेस्रो हुने प्रकाश माविका बिद्यार्थीहरूले नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
यसैबीच “बच्चाको हातमा पोसिलो खाजा, आमाको हातमा रकम” भन्ने नाराका साथ यही मंसिर २ गतेदेखि शिवराजका सामुदायिक विद्यालय र मदरसामा दिवाखाजा कार्यक्रम संचालन गरिने प्र.अ वैठकमा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो ।
बैठकमा मंसिर १५ गतेसम्म स्वयंसेवक शिक्षकहरूको हाजिरी प्रमाणित सहित तलबी माग फाराम पेश गर्नुपर्नु, कोरोनाका कारण अभिभावक गुमाएका विद्यार्थीलाई वार्षिक १० हजार छात्रवृत्तिका लागि विद्यालयको सिफारिससहित सप्रमाण पेश गर्नुपर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख पन्थीले बताउनुभयो ।

यसैगरी बैठकमा शिवराज खेल महोत्सव,यही मंसिर ७ देखि १४ सम्म हैजा विरुद्धको खोप सप्ताह संचालन, खाली दरबन्दीमा यथासिघ्र शिक्षक ब्यवस्थापन, समयावधि सकिएको विद्यालयमा विव्यस गठन, शिक्षण सिकाइ क्रियाकलाप, पठनपाठन, फुलबारी, विद्यालय सरसफाई, इमिस लगायतका विषयवस्तुमाथि छलफल भएको शिक्षा शाखा अधिकृत पूर्ण विश्वकर्माले जानकारी दिनुभयो ।