राम अवतार चाैधरी । कपिलवस्तुको शिवराज-३, अवस्थित शिवराज कृषि सहकारी संस्थाको छैँठाैँ साधारणसभा सम्पन्न भएकाे छ । उक्त सहकारीको साधारणसभा खरेन्द्रपुर स्थित स्वर्गद्वारी आश्रममा शुक्रबार सम्पन्न भएकाे हाे ।
शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले साधारणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै वडालाई कृषिमा अब्बल बनाउन आफू लागि परेको बताए । वडाका कृषकहरूलाई आत्मनिर्भर बनाउन व्यावसायिक रूपमा कृषि पेशालाई अगाडि बढाउनुपर्ने उनले बताए । अध्यक्ष सापकोटाले सहकारीले कृषि क्षेत्र धेरै काम गरेकोले अब किसानले उत्पादन गरेका बस्तुलाई सहकारीले खरिद गर्नुपर्ने बताए ।
नगरले तरकारी संकलनको लागि सहकारीलाई जिम्मा दिने तयारी गरेकोले शिवराज सहकारी त्यसको लागि तयार हुनुपर्ने बताए । वडाले प्रत्येक वर्ष कृषि क्षेत्रमा विभिन्न कार्यक्रम राखेकोले आगामी दिनमा समेत निरन्तर गरिरहने जानकारी दिए । कतिपयले अनुदानको लागि मात्र कृषि पेसा गर्ने गरेकोले त्यो अब सम्भव नरहेको सापकाेटाले जिकिर गरे ।
शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले उत्पादनको आधारमा स्थानीय तहले अनुदान दिने बताए । यस वर्ष शाखाले शाखाले विभिन्न कृषक सहकारीहरू सँग समन्वयन गरी अनुदान प्रदान गर्ने प्रमुख चाैधरीले जनाए ।
शिवराज नगरपालिका ३ स्वर्गद्वारी मन्दिर परिसरमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष केरसिंह अदैले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको २०७७-७८ मा ७१ लाख ५१ हजार ९९४ बराबरको काराेबारकाे प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले आइएमी सञ्चालन गर्नुको साथै किसानहरूको लागि मल बिक्री वितरण लगायतका कामले कृषकहरूलाई सहज भएको उल्लेख गरे । अध्यक्ष अदैले सहकारीले चालु आवमा कृषकहरूलाई तालिम प्रदान गर्ने, तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने, मल बिउ खरिद गर्ने, सामूहिक खेतीको लागि पहल गर्ने लगायतका योजना अघि सारेकाे उनले बताए ।