चन्द्रौटा (कपिलवस्तु) । सम्बाद केन्द्रको सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पुनः गीता थारुलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जसको उपाध्यक्षमा रोशन थारु, सचिवमा सञ्जय थारु, सहसचिवमा सोनमती थारु र कोषाध्यक्षमा पवित्रा थारु सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।
किर्डाक नेपाल स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत गतवर्ष गठित सम्बाद क्लबले छोटो समयमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मासिक बैठकबाट मासिक बचत, बालबगैंचा र सीएमसीसी संचालन, कोरोना कहरका बीच माक्स वितरण, साबुनपानीले हात धुने ६ तरिकाको ज्ञान, सरसफाई, बालविवाह, दाइजोप्रथा, बेचबिखन विरुद्ध जनचेतना अभियान लगायतका दर्जनौं कार्यक्रमहरु सम्पन्न गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोनमती थारुले बताउनुभयो । आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी गाउँटोलको विकास र परिवर्तनका लागि विभिन्न योजनाहरु अघि सारेको सोनमतीले जानकारी दिनुभयो । सम्बाद क्लबले किर्डाक नेपालबाट ३५ हजार र करीब १५ हजार संकलित बचत रकमबाट उदाहरणीय कार्य गरेको छ । क्लबका कोषाध्यक्ष पवित्रा थारुले ५९ हजार ८सय ७५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सम्बाद क्लबले गरेको कार्य प्रसंशनीय रहेको भन्दै आफ्नो गाउँटोलको विकासमा अग्रसर भई उदाहरणीय बन्न सुझाउनुभयो । साथै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै उपमेयर थारुले समाज परिवर्तनमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बैठक, कार्यक्रम गर्नका लागि सामुदायिक भवन नहुँदा समस्या भएको औल्याउँदै उपप्रमुख थारुले गाउँमा रहेको पुरानो कुवामाथि सामुदायिक भवन निर्माणका लागि पहल गरिन् आश्वासन समेत दिनुभयो ।
यता कार्यक्रमका विशिष्ट अतिथि चेम्बर अफ कमर्स केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोखरेलले समाजमा समस्याको रुपमा रहेको कूरीति, कुसंस्कारलाई जरैदेखि निमूल पार्न किशोर किशोरी सम्बाद क्लबका सदस्यहरु अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । यसैगरी कार्यक्रममा किर्डाक नेपालका प्रतिनिधि बिनोद केवट, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष सुनिता कुँवर लगायतले नव निर्वाचित पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिंदै समाज परिवर्तनमा किशोर किशोरीहरु सधैं एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सरस्वती थारुले कार्यक्रमको लक्ष्य र उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो ।