कपिलवस्तुको विजयनगर गाउँपालिकाकाले १ महिने नवजात शिशुलाई ६ महिनासम्म आवश्यक पोषणसहित स्याहार सुसार गर्ने जिम्मेवारी लिएको छ । गाउँपालिकाको वडा नं. १ हनुमाननगर निवासी पुन्सीराम चौधरीको १ महिना छोरा गोविन्द चौधरीलाई गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आइतवार बच्चालाई २० हजार रुपियाँ नगद र तत्काल चाहिने २ ओटा नेस्ट्रोजन दुध, प्याम्पस, ब्याबी पाउडर, ब्याबी तेल, साबुन, मास्क, स्यानीटाइर लगायतको समान उपलब्ध गराउनुभएको छ ।
अध्यक्ष थापाले स्वयम पुन्सीरामको घरमै पुगी गाउँपालिकाले ६ महिनासम्म बच्चाको औषधी उपचार र रेखदेख जिम्मेवारीले लिएको बताउनुभयो । अहिले नवजात शिशुलाई मृतककी जेठानी सविता थारुले रेखदेख गरिरहनुभएको छ ।
बच्चालाई ६ महिनासम्म चाहिने आवश्यक पोषणयुक्त खानासहित औषधी उपचार स्वास्थ्य शाखाले आवश्यकता अनुसार उपलब्ध गराउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।
अहिले बच्चालाई स्वयमसेविका शोभा थापा र उमा थापाको प्रत्यक्ष निगरानीमा राखिएको उहाँले बताउनुभयो । मृतक परिवारमा श्रीमान पुन्सीराम चौधरी, १ छोरी र १ छोरा नवजात बालक गरी ३ जना छन् । पारिवारिक अवस्था सामान्य र किसानी खेतीपाती गर्दै आएका छन् ।
२५ वर्षिया महिलालाई ३ गते एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । त्यहाँबाट १० गते रिफर गरेर तौलिहवा अस्पतालमा उपचार हुँदाहुँदै १५ गते शनिवार मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
मृतकको सम्पर्कमा आएका नवजात शिशुसहित सबैको एन्टिजेन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अधिकारीले बताउनुभयो ।