नयाँ दिल्ली : कोरोना भाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । महामारीबाट अतिप्रभावित भएको भारतलाई ती देशहरुले महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् । ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ संक्रमित हुने गरेका छन् । भारतमा बिहीबार मात्रै २ लाख ७६ हजार ११० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
योसँगै भारतमा कुल संक्रमित संख्या २ करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । सहयोग गर्ने प्रमुख देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।