प्रदेश प्रमुखहरूसँगको भेटघाटका लागि प्रदेश भ्रमणमा निस्किएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दुर्घटनामा घाइते भएकालाई आफैंले उद्धार गरी अस्पताल पठाएका छन्।
शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गरी सुर्खेतबाट फर्कंदै गरेका डा. अहिराजले सुर्खेतको छिन्चुमा दुर्घटनामा परेको गाडीका चालकलाई उद्धार गरी आफ्नै गाडीमा अस्पताल पुर्याएपछि मात्र आफ्नो यात्रा अगाडि बढाएका थिए।यसअघि डा. अहिराजले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर पथलैया खण्डमा दुर्घटनामा परी सडकमै छट्पटाइरहेका चार जना घाइतेलाई उद्धार गरी अस्पताल पठाएका थिए।
सरकारका मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरू आफैं चढेको गाडीले ठक्कर दिएका यात्रुलाई उद्धार नगरी हिँडिरहने घटना सार्वजनिक भइरहेका बेला प्रदेश प्रमुख डा. अहिराजको कार्यको भने सबै क्षेत्रबाट प्रशंसा हुने गरेको छ।
सडकमा दुर्घटनामा परेको व्यक्तिलाई उपचारका लागि अस्पतालमा पुर्याउनु आफ्नो कर्तव्य भएको र आफूले सोही कर्तव्य पूरा गरेको डा. अहिराजले सेतोपाटीसँग भने।सडकमा छटपटाइरहेको घाइते भेटिएपछि आफू पनि सोही बाटोबाट फर्कंदै रहेकोले उद्धार गरी कोहलपुरस्थित मेडिकल कलेज पुर्याएर फर्किएको उनले बताए।सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी सुरेन्द्र रेग्मीले मिनीट्रक दुर्घटना भई सडकभन्दा करिब १५ मिटर तल खसेको र ट्रकका चालकलाई प्रदेश २ का प्रदेश प्रमुख अहिराजले उद्धार गरी अस्पताल पुर्याउन सहयोग गरेको बताए ।