शिवराज चन्द्रौटा । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) का केन्द्रिय सदस्य धु्रवराज शर्मा ‘सुदिप’ ले सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिका रहेकोमा जोड दिए ।
जिल्लाको शिवराज ३, स्थित सुपादेउराली मन्दिर परिसरमा सम्पन्न कम्प्यूटर एशोसियसन नेपाल महासंघ, कपिलवस्तुको १३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै क्यान केन्द्रिय सदस्य शर्माले संगठनलाई बलियो बनाउन उर्जाशिल भई लाग्नुपर्नेमा सुझाव दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सूचना प्रविधिको विकासमा क्यानकै ठूलो योगदान रहेको समेत शर्माले चर्चा गरे ।
यता क्यान लुम्बिनी प्रदेश अध्यक्ष रोशन कँडेलले प्रविधि क्षेत्रको विकासमा नयाँपन आवश्यक रहेकोमा जोड दिए । क्यान प्रदेश अध्यक्ष कँडेलले संस्थालाई बलियो बनाउन गुटबन्दीमा लाग्न नहुने तर्क राखे । उनले जिल्लाका सबै प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायी तथा प्रशिक्षण केन्द्रहरुलाई जोड्दै नयाँ प्रविधि तथा कम्प्यूटरको आधुनिक शिक्षाबारे विशेष अभियान थाल्न सुझाव समेत दिए ।
साधारण सभामा लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा क्यान कपिलवस्तुका पूर्व अध्यक्ष माधव घिमिरेले क्यान कपिलवस्तुको ऐतिहासिक पृष्ठभूमिलाई उजागार गर्दै क्यानलाई जीवित राख्न सबैले अहम भूमिका खेल्नुपर्नेमा जोड दिए । सोही अवसरमा क्यान लुम्बिनी प्रदेश सहसचिव नारायण प्रसाद खनाल, रुपन्देही उद्योग संघका पूर्व कार्यालय प्रमुख टीकाराम शर्मा लगायतले साधारण सभाको पूर्ण सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा क्यान कपिलवस्तुका अध्यक्ष सन्दीप श्रीवास्तवले भावी योजना प्रस्तुत गर्दै क्यान कपिलवस्तुलाई अझ सक्रिय बनाउन अग्रसर हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सचिव राम सुभागी चौधरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सुरेन्द्र भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।