काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवृत्तभरण (पेन्सन) खाइरहेकाले पनि सामाजिक सुरक्षा भत्ता लिएको पाइएको भन्दै तत्काल छानबिन गरी दोहोरो सुविधा नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै अख्तियारले दोहोरो सुविधा गैरकानुनी हुने भन्दै छानबिन गरी असुल उपर गर्न भनेको छ। अख्तियारले दोहोरो सुविधा पाइरहेकाबाट सरकारी बाँकी सरह रकम असुल गर्न दुवै मन्त्रालयलाई निर्देशन दिएको छ।
निवृत्तभरण तथा नियमित पारिश्रमिक पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था रहेको स्मरण गराउँदै अख्तियारले सरकारलाई यस्तो निर्देशन दिएको हो। तर व्यवहारमा स्थानीय तहमा राज्यबाट अन्य सुविधा पाइरहेका व्यक्तिले दोहोरो पर्ने गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने गरेको अख्तियारको भनाइ छ।
‘स्थानीय तहले तत्काल छानबिन गरी दोहोरो सुविधा लिएको भए सरकारी बाँकी सरह असुल उपर गर्न र भविष्यमा यस किसिमको कमजोरी दोहोरिन नदिन आवश्यक पद्धतिको निर्मा गरी पूर्ण सतर्कता अपनाउन तत्काल आवश्यक व्यवस्था मिलाउनु हुन आयोगको निर्णयअनुसार अनुरोध छ,’ अख्तियारको पत्रमा भनिएको छ।