कपिलवस्तु। दुईवर्षदेखि भारतमा अलपत्र परेकी एक बालिकाको उद्धार गरिएको छ । कपिलवस्तुको विजयनगर घर भएकी वर्ष १४ की सपना (नाम परिवर्तन)लाई भारतको बनारसबाट नेपाल फर्काइएको हो ।
शान्ति पुनस्र्थापना गृह कपिलवस्तुले भारतीय दुताबासको सहयोगमा बालिकालाई दुईवर्षपछि नेपाल ल्याउन सफल भएको क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । दुई वर्षअघि घरबाट बेपत्ता भएकी बालिकालाई नाम नखुलेको व्यक्तिले ललाई फकाई कृष्णनगर हुँदै भारतको बनारस पु¥याइएको भट्टराईले बताए । विशेष सूचनाको आधारमा बालिकालाई भारतको बनारसमा फेला पारिएको क्षेत्रीय संयोजक भट्टराईले जनाए ।
शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भट्टराई र परामर्शदाता सुनिता के.सी.सहितको टोली भारतको बनारस पुगी त्यहाँस्थित निकेतन बालगृहमार्फत उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला संयोजक निशा पन्थीले जानकारी दिइन् ।
लकडाउन र कोरोना महामारीका बीच पनि शान्ति पुनस्र्थापना गृहले आफ्नो कामलाई यथावत राखी भारतबाट ११ र सीमाक्षेत्रबाट ३६ सहित ४७ जना महिला तथा बालबालिकाहरुलाई उद्धार गरी परिवारको जिम्मा लगाइसकेको पीआरसी कपिलवस्तु संयोजक पन्थीले बताएकी छन् ।