चितवनको माडीमा राम मन्दिर बनाउने विषयमा कांग्रेसको आपत्ति
काठमाडौं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको माडीमा पर्ने अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनप्रति आपत्ति जनाएका छन् । उनले आइतबार बिहान ट्विट गरेर चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।
“भक्त चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिसन लिम्पियाधुरा’ लाई बल पुग्ला @PM_Nepal ?,” प्रवक्ता शर्माले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार माडीका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलमा अयोध्यापुरीमा राम मन्दिर बनाउने निर्देशन दिएका थिए ।
उनले माडी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीलाई गत शुक्रबार टेलिफोन गरेर काठमाडौं आउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि माडीका मेयरको नेतृत्वमा जनप्रतिनिधको टोली शनिबार बालुवाटार पुगेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























