बुटवल
रुपन्देहीमा एक बैंकमा कार्यरत कर्मचारीले आत्महत्या गरेकी छिन्। गैडहवा गाउँपालिका ६ डाँडाचोकमा भाडामा बस्ने तिलोत्तमा नगरपालिका १५ की २४ वर्षीया युवतीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। उनले गैडहवामा कार्यालय रहेको एक विकास बैंकमा काम गर्थिन्।
डेरामा बस्दै आएकी उनले कोठाभित्रबाट चुकुल लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
यस्तै दाङमा एकजनाको शव फेला परेको छ। प्रदेश ५ प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका १ जुरौनीस्थित पूर्वपश्चिम राजमार्गको किनारमा रहेको प्रतीक्षालयमा प्युठान धर्मावतीका ४४ वर्षीय हिराबहादुर केसी मृत अवस्थामा फेला परेका हुन्। उनले मदिरा सेवन गरेर सो स्थानमा बसेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
यस्तै गरी कपिलवस्तुको कृष्णनगरमा एकजना युवा मृत फेला परेका छन्। कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जका २७ वर्षका आशिष कुमार गुप्ता स्थानीय अक्सफोर्ड बोर्डिङ स्कुलको कोठामा मृत फेला परेका हुन्। उनी राती ९ बजे घरबाट बाहिर जान्छु भनेर निस्किएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ।