रंजित चौरसिया, बीरगंज ०१ श्रावण ।
पकाहामैनपुर गाउँपालिका वडा नं. ३ मा बुधवार शुरू भएको गाउँसभाको बहुमतले आज नीति तथा कार्यक्रम पारित भएको जनाईएको छ । गापा अध्यक्ष विजयकुमार चौरसियाले आव २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा गापा अध्यक्ष चौरसियाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरण र सामाजिक विकासका कामलाई गाउँपालिकाले प्राथमिकता दिएको उल्लेख गर्नु भयो । अध्यक्ष चौरसियाले गापाले आव २०७७÷०७८ मा ३५ वर्ष उमेर नाघेका अविवाहित तथा एकल महिलालाई जीवनयापनको लागि गापाले मासिक रु १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गर्दै उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने घोषणा समेत गर्नु भयो । कोभिड–१९ रोकथामको लागि गापाले हालसम्म सञ्चालन गरेको कामलाई निरन्तरता दिने, कृषि क्षेत्रलाई अगाडि बढाउन व्यावसायिक तरकारीखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने, गापास्तरीय खेलकूद विकास समिति गठन गर्ने, सडकको स्तरोन्नति गर्ने, मुख्य सडक र बस्तीका सडकहरूमा बत्तीको व्यवस्था गर्नेलगायतका कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष चौरसियाको अध्यक्षतामा भएको गाउँसभाको बैठकबाट अनुमानित ३२ करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको आयरव्यय प्रस्तुत गरिएको जनाईएको छ । गाउँसभामा कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको सहभागीता रहे पनि आव २०७७÷०७८ को आर्थिक प्रतिवेदन पास हुन सकेन । गाउँपालिकाले छिटै नै सम्पूर्ण सदस्यहरुसँग राय, सल्लाह, सुझाव लिएर आर्थिक प्रतिवेदन पनि पास गरिने जनाईएको छ ।