काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेकी छन् । संसदीय दलको हि्वप उल्लंघन गरेको भन्दैसमाजवादी पार्टीले गरेको कारवाही खेदजनक रहेको अन्सारीको भनाइ छ ।
‘मा. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निश्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ’ अन्सारीले टि्वटरमा लेखेकी छन्, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’
संविधान संशोधन विधेयकमा मतदान हुँदा पार्टी हि्वप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी गिरीलाई पार्टीले पदबाट हटाउने निर्णय समेत गरेको छ ।
लिम्पियाधुरा सहितको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको मतदान गिरीले बहिस्कार गरेकी थिइन् । उनले पार्टी विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।