काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेताहरु आक्रोशित भएका छन्। मंगलबारको बैठकमा धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीप्रति आक्रोश पोखेका छन्। उनले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गरे। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताएका थिए। ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’, प्रचण्डको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो।’आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफूलाई हटाउन भारत सक्रिय भएको र त्यसमा नेपाली शक्तिले साथ दिएको भनेका थिए। त्यसको कारण भने उनले नयाँ नक्सा सार्वजनिक र संविधान संशोधनलाई देखाएका थिए।
मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रष्ट पार्न भनेका थिए। तीनै नेताको अभिव्यक्ति उस्तै रहेको ती सदस्यले बताए। ती नेताका अनुसार चारै जना नेताहरु ओलीविरुद्ध आक्रोशित भएका थिए। उनीहरुले सरकारले पनि परिणाम दिन नसकेको बरु विवादित काम गरेको आरोप लगाएका थिए। उनीहरुको बाँकी नेताहरुको मत र तर्क पनि प्रचण्डको जस्तै थियो। नेता नेपालले भने प्रधानमन्त्रीको अभिव्यक्ति आफ्नो असफलता ढाक्न आएको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक भएको बताए। उनले सरकार ढाल्न कोही लागेको भन्ने प्रधानमन्त्रीलाई लागेको हो भने स्पष्ट पार्नुपर्ने बताए।