काठमाडौं
लकडाउनले आजित भई जनता सडकमै आउन थालेपछि सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने नीति लिएको छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे बिहीबार सरकारले विस्तृत जानकारी दिने तयारी गरेको छ ।
कोरोना भाइरस संक्रमित दोस्रो केस भेटिएपछि सरकारले चैत ११ बाट लकडाउन गरेको थियो । पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दो छ । तर साढे दुई महिना लामो लकडाउन गरेको सरकारले खुकुलो बनाउने योजना नल्याएको भन्दै व्यवसायीहरुले स्वस्फुर्त पसल समेत खुल्न थालिसकेका छन् भने सरकारलाई नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको छ ।