बुटवल ।
पश्चिम रुकुम घटनाको विषयमा स्थलगत अध्ययन गरेर फर्कनुभएका वरिष्ठ पत्रकार किशोर नेपालले रुकुम पश्चिमको घटनालाई जातीय कुरा जोडेर ब्याख्या गर्न नहुने बताउनु भएको छ ।
नेपालले विवाह पक्षपनि जातीय आधार बोकेर विवाह गर्न नगएको र आक्रमण गर्नेहरुले पनि जात हेरेर आक्रमण नगरेको बताउँदै घटनालाई जातसँग जोडेर हेर्नु गलत भएको बताउनु भयो । “घटनामा मृत्यु हुने र घाईतेहुने गैर दलित पनि छन्, जात हेरेर आक्रमण भएको छैन”, वरिष्ठ पत्रकार नेपालले रुकुम घटनालाई सुनियोजित नभएर आकस्मीक घटना भएको बताउँदै घटना जघन्य अपराधिक भने भन्न सकिने बताउनुभयो ।
राज्यले संलग्नहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेकाले अनुसन्धानलाई प्रभाव पार्ने गरि कसैले टिप्पणी गर्न नहुने पत्रकार नेपालको भनाई छ ।
अनुसन्धानमा सक्रिय देखिएपनि राज्यले पीडितको परिवारलाई आश्वस्त पार्न नसकेको बताउँदै उहांले पीडित पक्षको संवेदनामा राज्य गम्भिर बन्न नसकेको टिप्पणी गर्नुभयो । पीडित पक्षको घाउमा मल्हम लगाउने विषयमा राज्य चुकेको पत्रकार नेपालको ठहर छ ।
नेपाल सहितको पत्रकार टोली रुकुम घटनाको स्थलगत अध्ययन गरी आइतबारै काठमाडौं फर्किएको छ । प्रेममा परेका नवराज विकले प्रेमीका भगाउन साथीहरुसहित लिएर केटी पक्षको घर पुग्दा आक्रमणमा परि नवराज सहित ६ जनाको मृत्यु भएको थियो । भेरी नदीबाट मृत अवस्थामा गोताखोरहरुले ६ जनाको शव निकालेका थिए । आफ्ना सन्तानहरुलाई हत्या गरेर भेरीमा फालेको मृतकका आफन्तले आरोप लगाउँदै आएकाछन् ।