काठमाडौं
नेपाली कांग्रेसकातर्फबाट राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता र एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई सामाजिक सुरक्षा ऐनमै समावेश गर्ने गरी संशोधन विधेयक दर्ता गराएका छन् ।
उनले बिहीबार नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न संघीय संसद सचिवालयमा गैर सरकारी विधेयक दर्ता गराएका हुन् ।
‘सामाजिक सुरक्षा ऐन बमोजिम विभिन्न वर्गले सामाजिक सुरक्षा भत्ता पाइरहेको अवस्थामा साठी वर्ष मुनिका एकल महिला (विधवा) र अतिअशक्त अपाङ्गता भएका व्यक्तिले भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन्,’ उनले भने, ‘अब एकल महिला र अपांगता भएका व्यक्तिहरुले पनि सामाजिक सुरक्षा ऐन अनुसार नै सुविधा पाउनुपर्ने व्यवस्था गर्न आवश्यक भएकोले संशोधनका लागि विधेयक प्रस्तुत गर्नु परेको हो ’
उनले समाजिक सुरक्षा ऐन संविधानमा व्यवस्था भएको मौलिक हक कार्यन्वयन गर्न बनेको महत्वपूर्ण मौलिक हकको ऐन समेत भएको बताए । विधेयकमा सामाजिक सुरक्षा ऐनको दफा ७ र दफा ८ संशोधनका लागि प्रस्ताव गरिएको छ । दफा ७ को उपदफा (१) को सट्टा साठी वर्ष उमेर पुगेका असहाय एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउनेछ व्यवस्था राख्न भनिएको छ ।
विधेयकमा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका र विवाह नगरेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने उल्लेख छ । त्यस्तै मूल ऐनको दफा ८ को सट्टा पूर्ण र अति अशक्त अपाङ्गता भएको नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनेछन् भन्ने व्यवस्था गर्न विधेयकमा उल्लेख संशोधन गर्नपर्नुपर्ने माग गरिएको छ । सामाजिक सुरक्षा भत्ताको नेपाल सरकारले निर्णय गरे अनुसार वार्षिक बजेटमा प्रस्तुत गरिनुपर्ने उल्लेख छ ।
सरकारले एकल महिला र अपांगता भएका व्यक्तिलाई तत्काल सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारका सामाजिक सुरक्षा भत्ता कटौति नगरिने प्रष्ट पारेका थिए ।