एजेन्सी । युरोपमा कोरोना भाइरस (कोभिड –१९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएका देशमध्ये फ्रान्स, इटली र स्पेनमा पछिल्लो समय लगातार सुधारको सङ्केत देखिएको छ । सुधारको सङ्केत देखिएसँगै सङ्क्रमण अन्त्य हुने बाटोतिर लागेको देखिएको छ । तीनै देशमा आइतबार कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै दुई महिनायताकै कम देखिएको छ ।
योसँगै यी देश लकडाउन केही खुकुलो बनाउनेतर्फ अग्रसर भएका छन् । फ्रान्समा आइतबार एक सय ३५ तथा स्पेनमा एक ६४ जनाको ज्यान गएको थियो र यो गएको मार्च मध्ययताकै कम हो । यस्तै इटलीमा एक सय ७४ जनाको ज्यान गएको र यो संख्या पछिल्लो दुई महिनायताकै कम भएको बीबीसीले जनाएको छ ।
युरोपका देशमध्ये सबैभन्दा धेरै संक्रमण भएको स्पेनमा अहिलेसम्म दुई लाख ४७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने एक लाख ४८ हजार पाँच सय ५८ जना उपचारपछि निको भएका छन् ।