जालसाजी गरेर बिक्री गरिएको जग्गा पाँच वर्षपछि फिर्ता
दाङ, ८ साउन । घोराही उपमहानगरपालिका–१४, सरस्वती टोल निवासी ६८ वर्षीया मुलजिता रोकाले जालसाजी गरेर बिक्री गरिएको आफ्नो जग्गा पाँच वर्षपछि फिर्ता पाएकी छन्।
रोकाको नाममा रहेको घोराही उपमहानगरपालिका–७, सौँडियारस्थित कित्ता नं. ३/क ९२६ को १० कट्ठा ८ धुर जग्गा उनको जानकारी र सहमतिबिनै जालसाजी गरेर बिक्री गरिएको थियो।
रोकाले उक्त जग्गा जनज्योति पशुपन्छी पालक कृषक सहकारी संस्थालाई २०७८ असार १६ गतेदेखि वार्षिक २४ हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षका लागि भाडामा दिएकी थिइन्। तर, सहकारीलाई जग्गा भाडामा दिँदा साक्षी बसेका घोराही–१५ निवासी टीका बुढालगायतका व्यक्तिले रोकाको नाममा रहेको जग्गाधनी प्रमाणपुर्जा नक्कली बनाएर २०७८ असार २८ गते जग्गा बिक्री गरेको बताइएको छ।
नक्कली जग्गाधनी प्रमाणपुर्जा प्रयोग गरी घोराही–७ बाट बिक्रीका लागि सिफारिस निकालिएको र मालपोत कार्यालय घोराहीमा घरजग्गा लिखत गर्ने लेखनदासहरूको समेत मिलेमतोमा जग्गा अर्कै व्यक्तिको नाममा पास गरिएको रोकाको दाबी छ।
आफ्नो नाममा रहेको जग्गा आफूलाई जानकारी नै नदिई बिक्री भएको कुरा रोकाले २०७९ सालमा जग्गाको राजस्व तिर्न वडा कार्यालय पुगेपछि मात्र थाहा पाएकी थिइन्। त्यसपछि जग्गा फिर्ताका लागि निरन्तर प्रयास गरे पनि जग्गा बिक्रीमा संलग्न बुढाले विभिन्न बहाना बनाएर आफूलाई टार्दै आएको रोकाले बताइन्।
मालपोत कार्यालय घोराहीको अभिलेखअनुसार उक्त जग्गा २०७८ असार १६ गते २० लाख रुपैयाँको कागजी मूल्याङ्कनमा घोराही निवासी लक्ष्मण शर्माको नाममा रजिस्ट्रेसन पास गरिएको थियो। पछि सोही जग्गा २०८१ चैत ८ गते लक्ष्मण शर्माको नामबाट घोराहीकै पर्शुराम श्रेष्ठको नाममा पास भएको अभिलेखमा देखिएको छ।
लामो समयको प्रयासपछि पत्रकार, आफन्त तथा प्रहरीको सहयोगमा पाँच वर्षपछि आफ्नो जग्गा पुनः आफ्नै नाममा ल्याउन सफल भएको रोकाले बताइन्। उनले आफ्नो जग्गा फिर्ता ल्याउन सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेकी छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















