शिवराजका १५३ जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री
कपुरी,डेक्स।
कपिलवस्तु, साउन १। सिद्धार्थ सामाजिक विकास केन्द्रले कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका जोखिममा परेका तथा आर्थिक रूपमा विपन्न १५३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
स्थानीय अधिकार कार्यक्रमअन्तर्गत वडा नं. ४, १० र ११ मा सञ्चालित १७ वटा विद्यालय तथा मदरसामा अध्ययनरत बालबालिकालाई विद्यालय झोला, विद्यालय पोशाक, जुत्ता, मोजा, कापी, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ। प्रत्येक विद्यार्थीलाई करिब रु. २ हजार ८ सय २० बराबरको सामग्री उपलब्ध गराइएको छ।
केन्द्रका अनुसार विपन्न परिवारका बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन सहयोग पुर्याउने, अभिभावकमाथिको आर्थिक भार कम गर्ने तथा विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।
परियोजना संयोजक अजय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ४ की अध्यक्ष मञ्जु मिश्र प्रमुख अतिथि रहनुभएको थियो। नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्णबहादुर विश्वकर्मा विशेष अतिथि हुनुहुन्थ्यो भने वडा सदस्य कान्थराम अहिर र ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी घिमिरे अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले जोखिममा रहेका तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरकारी निकाय, स्थानीय तह, समुदाय र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।
उनीहरूले कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै समावेशी र समानतामूलक शिक्षा प्रवर्द्धनमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका सहायक कार्यक्रम अधिकृत सञ्जीव गहतराजले गर्नुभएको थियो। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरूले सहयोगप्रति खुसी व्यक्त गरेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















