कपुरी,डेक्स।
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्तर्गत जातीय छुवाछुतप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै दलित समुदायको प्रोफाइल निर्माण गर्ने भएको छ।

नगरपालिकाले जातीय विभेद र छुवाछुतको अन्त्य गर्दै समावेशी तथा समानतामूलक समाज निर्माण गर्ने उद्देश्यले दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा अन्य अवस्थाको यथार्थ विवरण संकलन गरी प्रोफाइल तयार गर्ने जनाएको छ। यसबाट आवश्यकता पहिचान गरी लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

नगर प्रमुख अजय थापाले संविधानले सुनिश्चित गरेको समानता, सामाजिक न्याय र समावेशी विकासलाई व्यवहारमा कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जातीय छुवाछुत जस्तो अमानवीय व्यवहारप्रति हाम्रो नीति शून्य सहनशीलताको हो। दलित समुदायको वास्तविक अवस्था पहिचान गर्न प्रोफाइल निर्माण गरिनेछ, जसका आधारमा आवश्यकताअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिनेछ।”

नगरपालिकाले प्रोफाइल निर्माणपछि दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकास तथा सामाजिक सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। यस कार्यक्रमलाई सामाजिक सद्भाव, समान अवसर र समावेशी विकासलाई सुदृढ गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।