कपुरी,डेक्स।
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्तर्गत ठेलागाडा व्यवसायलाई व्यवस्थित गर्न आर्थिक सहयोग प्रदान गर्ने भएको छ। नगरपालिकाले बजार क्षेत्रको सौन्दर्य कायम राख्दै साना व्यवसायीहरूको जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले यो कार्यक्रम अघि सारेको जनाएको छ।

हाल चन्द्रौटा बजार क्षेत्रमा प्रयोग भइरहेका कतिपय पुराना तथा अव्यवस्थित ठेलागाडाका कारण बजारको सौन्दर्यमा असर परेको तथा आवतजावतमा समेत समस्या देखिएको छ। यस अवस्थालाई सुधार गर्न व्यवस्थित, बलियो र आकर्षक ठेलागाडा प्रयोगमा ल्याउन नगरपालिकाले आर्थिक सहयोग गर्ने नीति लिएको हो।

नगर प्रमुख अजय थापाले चन्द्रौटा बजारलाई व्यवस्थित र सुन्दर बनाउने अभियानअन्तर्गत यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अव्यवस्थित ठेलागाडाका कारण बजार क्षेत्र केही कुरूप देखिएको छ। व्यवसायीहरूलाई बलियो, सुरक्षित र व्यवस्थित ठेलागाडा प्रयोग गर्न प्रोत्साहन गर्न आर्थिक सहयोगको व्यवस्था गरेका छौँ। यसले सामान यताउता लैजान सजिलो हुनुका साथै व्यवसाय सञ्चालनमा पनि सहजता ल्याउनेछ।”

उहाँले यस कार्यक्रमले बजार व्यवस्थापन, व्यवसायीको सुविधा तथा नगरको समग्र सौन्दर्य अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय व्यवसायीहरूले पनि नगरपालिकाको यो पहलले आफ्नो व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन्।