कपुरी/डेक्स
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्तर्गत महिला सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै महिला अटो रिक्सा चालकहरूलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महिलाहरूलाई आत्मनिर्भर बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा यातायात क्षेत्रमा उनीहरूको सहभागिता बढाउने उद्देश्यले उक्त कार्यक्रम समावेश गरिएको जनाएको छ। यस कार्यक्रममार्फत अटो रिक्सा सञ्चालन गरिरहेका तथा सञ्चालन गर्न इच्छुक महिलाहरूलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराइनेछ।

नगर प्रमुख अजय थापाले महिलाहरूको आर्थिक सशक्तीकरण नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

महिला अटो रिक्सा चालकलाई आर्थिक सहयोग गर्ने कार्यक्रमले महिलाहरूको आयआर्जन वृद्धि गर्नुका साथै यातायात क्षेत्रमा उनीहरूको सहभागिता र नेतृत्वलाई थप मजबुत बनाउने विश्वास लिएका छौं।”

उहाँले नगरपालिकाले महिला, दलित, विपन्न तथा पछाडि पारिएका समुदायलाई लक्षित कार्यक्रममार्फत समावेशी विकासलाई प्राथमिकता दिएको समेत उल्लेख गर्नुभयो।
स्थानीय तहबाट महिलामैत्री तथा समावेशी कार्यक्रमहरू सञ्चालन भइरहेका बेला शिवराज नगरपालिकाको यो पहललाई महिला सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।