कपुरी,डेक्स विजयनगर।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नगर प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुनुभएका गुप्तबहादुर दाहाललाई आज एक विशेष कार्यक्रमबीच दर्ज्यानी चिन्ह सुशोभित गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले नवनियुक्त सहायक निरीक्षक दाहाललाई बधाई दिँदै नगर प्रहरीको भूमिका स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाह, शान्ति–सुरक्षा तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण रहने बताउनुभयो। उहाँले निष्पक्ष, अनुशासित र जनमुखी ढंगले जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।

उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले नयाँ जिम्मेवारीसँगै दाहालको कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै जनताप्रति उत्तरदायी र सेवामुखी ढंगले काम गर्न सुझाव दिनुभयो।

दर्ज्यानी चिन्ह सुशोभनसँगै दाहालले गाउँपालिकाको नगर प्रहरी व्यवस्थापन तथा स्थानीय शान्ति–सुरक्षामा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका सहभागीहरूले उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।