सञ्चारकर्मीका लागि कपिलवस्तुमा दुई दिने एआई तालिम सुरु; प्रविधिको सही उपयोगले पत्रकारिता बलियो हुने: अध्यक्ष थापा
कपुरी डेक्स ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्बन्धी तालिम कार्यक्रम सुरु भएको छ। विजयनगर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खुरुहरिया कपिलवस्तुको विशेष सहयोगमा आयोजित उक्ततालिम जेठ २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले समय अनुसार प्रविधिमैत्री हुँदै जानु निकै राम्रो विषय भएको बताउनुभयो। प्रविधिको उच्चतम् प्रयोगले स्थानीय तहका वास्तविक समस्याहरूलाई उजागर गर्न पक्कै पनि सहजता ल्याउने विश्वास व्यक्त गर्दै उहाँले पत्रकारहरूलाई अनुशासित बनाउन र पत्रकार आचारसंहिता पालना गराउन पत्रकार महासंघले विशेष सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। एआई जस्ता आधुनिक प्रविधिको सही र जिम्मेवार उपयोगले पत्रकारिता क्षेत्रलाई अझ बढी प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सञ्चारकर्मीहरूको व्यावसायिक र प्राविधिक क्षमता विकासका लागि महासंघ सधैं क्रियाशील रहेको बताउनुभयो। आधुनिक पत्रकारितामा भित्रिएका नयाँ प्रविधिहरूलाई आत्मसाथ गर्दै सुरक्षित ढंगले एआईको प्रयोग गर्न सिकाउने उद्देश्यले यो तालिम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा आफ्नो धारणा राख्दै यस क्षेत्रका वरिष्ठ पत्रकार राजु खरालले एआई प्रविधिको बढ्दो प्रयोगले विशेष गरी रेडियो पत्रकारितामा आबद्ध सञ्चारकर्मीहरूका लागि ठूलो चुनौती थपेको बताउनुभयो। सबैले एआईबाटै समाचार निर्माण र प्रसारण गर्न थालेपछि रेडियोकर्मीहरूको भविष्य संकटमा पर्न सक्ने तर्फ सचेत गराउँदै उहाँले स्थानीय सरकारले बेलैमा यसतर्फ सोच विकास गर्नुपर्नेमा जोड दिनुभयो। यस क्षेत्रमा रहेका पत्रकारहरू पलायन हुने अवस्था सिर्जना भए भोलिका दिनमा खोज पत्रकारिता कसले गर्ने भन्दै उहाँले गम्भीर प्रश्न समेत उठाउनुभयो।
त्यस्तै, उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार निशा विश्वकर्माले प्रविधिको प्रयोग बढे पनि पत्रकारिताको मूल मर्म सत्य, तथ्य र निष्पक्षता नै रहने कुरामा जोड दिनुभयो। उहाँले श्रोता तथा पाठकको मनोभावना र आवश्यकतालाई मध्यनजर गर्दै विश्वसनीय समाचार निर्माणमा एआई प्रविधिलाई एक सहयोगी औजारका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सदस्य माधव बेल्वासेले गर्नुभएको थियो।
तालिममा कपिलवस्तु जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण एआईविज्ञ एवं प्रशिक्षकद्वय सुबल काफ्ले र रजनीश भण्डारीले गरिरहनुभएको छ।
तालिम अवधिभर सहभागीहरूलाई समाचार संकलन, लेखन, सम्पादन, तथ्य परीक्षण (Fact-checking), डिजिटल सामग्री निर्माणका साथै पत्रकारितामा एआई प्रयोगका अवसर र चुनौतीबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकारहरूको व्यावसायिक क्षमता विकास तथा प्रविधिमैत्री पत्रकारिता प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















