बालबालिकाको चित्रमा हरियाली भविष्यको सपना
चन्द्रौटा, कपिलवस्तु ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा शिवराज नगरपालिकाका नन्हा बालबालिकाहरूले आफ्ना सिर्जनात्मक चित्रमार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनप्रति सचेत रहने सशक्त सन्देश दिएका छन्। रंग र कल्पनाको माध्यमबाट प्रकृतिप्रतिको माया अभिव्यक्त गर्दै उनीहरूले स्वच्छ र सुरक्षित भविष्य निर्माणमा सबैको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरेका हुन्।

एक्सनएड नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारी तथा शिवराज नगरपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत “समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारासहित शिवराज नगरपालिका वडा नं. ४, १० र ११ मा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको हो।
प्रतियोगिता कक्षा १ देखि ३ र कक्षा ४ देखि ५ सम्मका विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। वातावरण संरक्षण तथा जलवायु न्यायसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वन संरक्षण, हरियाली प्रवर्द्धन, स्वच्छ वातावरण तथा जलवायु परिवर्तनका विषयलाई चित्रमार्फत आकर्षक र सन्देशमूलक ढंगले प्रस्तुत गरेका थिए।
नन्हा कलाकारहरूको सिर्जनशीलताले उपस्थित सबैको मन जित्न सफल भएको आयोजकले जनाएको छ।
शिवराज नगरपालिका वडा नं. ४ अन्तर्गत कक्षा १–३ तर्फ श्री समयथान माध्यमिक विद्यालयका दुर्गा बहादुर क्षेत्री प्रथम, श्री राष्ट्रिय आधारभूत विद्यालयकी नाजमा खातुन द्वितीय तथा श्री समयथान माध्यमिक विद्यालयकी हलिमा खातुन तृतीय भएका छन्। कक्षा ४–५ तर्फ श्री राष्ट्रिय आधारभूत विद्यालयका नसिम धुनिया प्रथम, श्री समयथान माध्यमिक विद्यालयकी मेनका क्षेत्री द्वितीय तथा श्री राष्ट्रिय आधारभूत विद्यालयकी मनिषा गडरिया तृतीय भएकी छन्।
वडा नं. १० मा कक्षा १–३ तर्फ श्री किशोर आदर्श विद्यालय, इस्लामनगरका विनय पाल प्रथम, सोही विद्यालयका सुनिल कुर्मी द्वितीय तथा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, शीतलापुरकी मन्जु चमार तृतीय भएकी छन्। कक्षा ४–५ तर्फ श्री जनता आधारभूत विद्यालयकी पूजा कोरी प्रथम, श्री नेपाल आधारभूत विद्यालय, शीतलापुरका तोफिक जोलाहा द्वितीय तथा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, शीतलापुरका सहिद मनियार तृतीय भएका छन्।
त्यसैगरी वडा नं. ११ मा कक्षा १–३ तर्फ श्री रङ्गीलाल माध्यमिक विद्यालय, सडवाकी बिन्द्रबासनी यादव प्रथम, श्री ज्ञानउदय आधारभूत विद्यालय, सेमरीका विशम्भर कोरी द्वितीय तथा श्री ब्रह्मदेव आधारभूत विद्यालय, मर्जातपुरकी राधा बरई तृतीय भएकी छन्। कक्षा ४–५ तर्फ श्री दुर्गा भगवती माध्यमिक विद्यालय, नयाँबस्तीकी सरस्वती विश्वकर्मा प्रथम, श्री दुर्गेश नन्दनी आधारभूत विद्यालय, थुनियाका ओमप्रकाश यादव द्वितीय तथा सोही विद्यालयकी रिनु कुर्मी तृतीय भएकी छन्।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले वातावरणीय चुनौती बढिरहेका बेला बालबालिकामा सानैदेखि प्रकृतिप्रतिको प्रेम, जिम्मेवारी र संरक्षणको भावना विकास गर्नु आवश्यक रहेको बताए। यस्ता रचनात्मक गतिविधिले बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उनीहरूको भनाइ थियो।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १० की वडा अध्यक्ष मञ्जु मिश्रा, समाजसेवी रविदत्त मिश्रा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार अहिर लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















