कपुरी डेक्स ।
स्थानीय तहमा उत्पन्न हुने विवादलाई अदालतसम्म पुग्न नदिई समुदायमै संवाद समझदारी र सहमतिका आधारमा समाधान गर्ने उद्देश्यले शिवराज नगरपालिकामा प्रशिक्षित ३३ जना मेलमिलापकर्ताले शपथ ग्रहण गरेका छन्।

शिवराज नगरपालिका जनहित संरक्षण मञ्च (प्रो पब्लिक) काठमाडौं तथा नागरिक शान्ति सेवा कार्यक्रम (GIZ) को सहयोगमा सञ्चालित आठ दिवसीय आधारभूत मेलमिलाप तालिम पूरा गरेका ११ वटै वडाका सहभागीहरूले शपथ ग्रहणसँगै समुदायमा देखिने विभिन्न विवादलाई निष्पक्ष गोपनीय र न्यायोचित ढंगले समाधान गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

शिवराज नगरपालिका–५ स्थित सभाहलमा बिहीबार आयोजित कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक शिवकुमारी चौधरीले प्रशिक्षित मेलमिलापकर्ताहरूलाई शपथ ग्रहण गराउनुभएको थियो। शपथसँगै उनीहरूले मेलमिलापका सिद्धान्त निष्पक्षता गोपनीयता तथा न्यायिक मर्यादालाई आत्मसात् गर्दै समुदायस्तरमा विवाद समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख अजय थापाले स्थानीय सरकारको न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। अदालत र प्रशासनिक निकायसम्म पुग्ने सामान्य प्रकृतिका विवादलाई समुदायस्तरमै समाधान गर्न सक्षम जनशक्ति तयार हुनु सकारात्मक उपलब्धि भएको उहाँको भनाइ थियो।

उहाँले न्यायिक समितिको कार्यक्षमता अभिवृद्धिसँगै नागरिकलाई छिटो सरल र कम खर्चिलो न्याय उपलब्ध गराउन यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। “समाजमा बढ्दो असमझदारी र सामान्य विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने संस्कृतिको विकास आवश्यक छ” उहाँले भन्नुभयो।

कार्यक्रममा न्यायिक समितिका सदस्यहरू वडा अध्यक्षहरू खिम विक्रम केसी नेत्रप्रसाद बेल्बासे र रामगोपाल चौधरी लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूको तर्फबाट तालिमका अनुभवसमेत प्रस्तुत गरिएको थियो।

वैशाख २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त आठ दिवसीय (४८ घण्टा) तालिममा सहभागीहरूले मेलमिलापको अवधारणा विवाद व्यवस्थापन संवाद तथा सहजीकरणका विधि कानुनी आधार र व्यवहारिक पक्षबारे प्रशिक्षण प्राप्त गरेका थिए। तालिमपछि उनीहरूलाई सम्बन्धित वडास्तरमा मेलमिलापकर्ताका रूपमा परिचालन गरिने जनाइएको छ।

स्थानीय तहमा न्यायिक समितिमार्फत हुने विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले समुदायमा मेलमिलापको संस्कृति विकास सामाजिक सद्भाव प्रवर्द्धन तथा न्यायमा नागरिकको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रमको सञ्चालन प्रो पब्लिककी फिल्ड प्रशिक्षार्थी सुस्मा भट्टराईले गर्नुभएको थियो।