चन्द्रौटा, कपिलवस्तु ।
फफुरी इङ्ग्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा शान्बी सिंहले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४.०० GPA प्राप्त गर्दै शिवराज नगरपालिका प्रथम हुन सफल भएकी छन्।

उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालय, अभिभावक तथा समग्र शिवराज नगरपालिकाको गौरव बढाएकी शान्बी सिंहलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक प्रीतम बहादुर क्षेत्रीले शान्बीको यो सफलता निरन्तर मेहनत, अनुशासन र लगनशीलताको परिणाम भएको बताउँदै आगामी शैक्षिक यात्रामा अझ उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयका शिक्षक, अभिभावक तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीको सफलतामा सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

यसैबीच, नगरपालिकामा प्रथम हुन सफल छात्रा शान्बी सिंहले आफ्नो सफलताप्रति खुशी व्यक्त गर्दै यस उपलब्धिको श्रेय आफ्ना अभिभावक, शिक्षक तथा विद्यालय परिवारलाई दिएकी छन्। उनले भनिन्

नियमित अध्ययन, शिक्षकहरूको मार्गदर्शन र परिवारको निरन्तर हौसलाले यो सफलता हासिल गर्न सकेकी हुँ। यो नतिजाले मलाई अझ राम्रो गर्न प्रेरणा दिएको छ। आगामी दिनमा पनि मेहनतलाई निरन्तरता दिँदै देश र समाजका लागि योगदान दिन सक्ने व्यक्तित्व बन्ने लक्ष्य लिएकी छु।

SEE परीक्षामा ४.०० GPA प्राप्त गरी शिवराज नगरपालिका प्रथम बन्न सफल शान्बी सिंहको उपलब्धिले अन्य विद्यार्थीहरूलाई समेत मेहनत अनुशासन र लक्ष्यप्रतिको समर्पणमार्फत उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।