शिवराजमा ५ दिने अचार बनाउने तालिम सुरु
शिवराज, जेठ १९ गते ।
शिवराज नगरपालिकाद्वारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत ५ दिने अचार बनाउने तालिम सोमबारदेखि सुरु भएको छ। तालिमको उद्घाटन नगर प्रमुख अजय थापाले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले सीपमूलक तालिमले स्थानीय नागरिकलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले आयआर्जन वृद्धि गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माको समेत उपस्थिति रहेको थियो। तालिमको सहजीकरण प्रमुख प्रशिक्षक शान्ती मल्लले गर्नुभएको छ। तालिममा २७ जना सहभागी रहेका छन्।
उद्यम विकास सहजकर्ता बिनिता सापकोटाले उद्यमशीलता विकास तालिम सम्पन्न गरेका र छनोटमा परेका व्यक्तिहरूलाई सीप विकास तालिममा सहभागी गराइएको जानकारी दिनुभयो।
उहाँले तालिमपछि सहभागीहरू आत्मनिर्भर बन्दै स्वरोजगारका अवसर सिर्जना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। साथै, सीप र ज्ञानको उचित प्रयोग गरी लघु उद्यम स्थापना तथा सञ्चालन गर्न सके आर्थिक अवस्था सुधारमा टेवा पुग्ने बताउनुभयो।
तालिममा अचार उत्पादन, प्रशोधन, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा बजारीकरण सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिने जनाइएको छ। नगरपालिकाले उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरणका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















