कपुरी डेक्स ।
कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन आज सम्पन्न हुँदैछ । अधिवेशनले नयाँ नगर नेतृत्व चयन गर्ने भएकाले पार्टी वृत्तमा उत्साह र चासो बढेको छ ।

शिवराजस्थित उमेरी थारु सङ्ग्रहालयमा आयोजना हुने अधिवेशनमा नगरभरिका पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको नगर समितिले जनाएको छ ।

नगर नेतृत्वका लागि हालका सभापति बालकृष्ण पाण्डेयको नाम अग्रपङ्क्तिमा रहेको चर्चा छ । यद्यपि, युवा नेता विराट के.सी.को नाम पनि नेतृत्वका सम्भावित दाबेदारका रूपमा चर्चामा रहेको स्रोतले जनाएको छ । संगठन विस्तार, युवाको सहभागिता वृद्धि र पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषय नेतृत्व चयनका मुख्य एजेन्डा बनेका छन् ।

त्यसैगरी, सचिव पदका लागि जीवन काफ्ले र भरत पोखरेलले दाबेदारी प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । अन्य पदहरूमा समेत विभिन्न नेता तथा कार्यकर्ताहरूले उम्मेदवारी दिने सम्भावना रहेको छ ।

पार्टीभित्र नेतृत्व चयन सर्वसम्मतिबाट टुङ्ग्याउने प्रयास भए पनि सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्ने भित्री तयारी भइरहेको स्रोतको दाबी छ । यसले अधिवेशनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ ।

रास्वपाको शिवराजमा हुन लागेको पहिलो नगर अधिवेशनलाई स्थानीय राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । अधिवेशनले आगामी दिनमा पार्टीको स्थानीय संगठन, कार्यदिशा र जनसरोकारका मुद्दाहरूलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।