कपुरी डेक्स, शिवराज – कपिलवस्तु

कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थप बलियो बन्दै गएको छ । यसै क्रममा प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा “क्यामरा” चुनाव चिन्हबाट निर्वाचन लडेका चिन्ता परियार रास्वपामा प्रवेश गर्नुभएको छ ।

परियारलाई एक कार्यक्रमका बीच पार्टीका नेताहरूले स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् । उहाँको प्रवेशसँगै विजयनगर क्षेत्रमा रास्वपाको संगठन विस्तार तथा जनसमर्थन अझ मजबुत बन्ने विश्वास गरिएको छ ।

लामो समयदेखि सामाजिक, राजनीतिक तथा पत्रकारितामा सक्रिय रहँदै आएका परियार स्थानीय स्तरमा परिचित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।

उहाँले “मेरो साथी एफ.एम.” सहित विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आउनुभएको छ । पत्रकारितामार्फत स्थानीय समस्या विकास निर्माण सामाजिक गतिविधि तथा जनचासोका विषयलाई निरन्तर उठाउँदै आएकाले उहाँले स्थानीय स्तरमा राम्रो पहिचान बनाउन सफल हुनुभएको छ ।

युवामाझ लोकप्रिय परियारको चर्चा पछिल्लो समय विजयनगर गाउँपालिकाको अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा समेत हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै नेताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र इमानदार राजनीतिको पक्षमा रास्वपा दृढ रहेको बताएका थिए ।

परियारले पनि समाज र देशको सकारात्मक परिवर्तनका लागि आफू रास्वपामा आबद्ध भएको बताउनुभयो । उहाँले जनताका समस्या समाधान, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय बासिन्दाहरूले परियारको आगमनले विजयनगरमा रास्वपाको प्रभाव थप बढ्ने प्रतिक्रिया दिएका छन् । उहाँको प्रवेशसँगै पार्टीलाई नयाँ ऊर्जा र संगठनात्मक मजबुती मिल्ने अपेक्षा गरिएको छ ।