लैङ्गिक हिंसा अन्त्यमा स्थानीय सरकार गम्भीर : उपप्रमुख थारू
कपुरी डेक्स।
कपिलवस्तु । शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले लैङ्गिक हिंसा नियन्त्रण तथा अन्त्यका लागि स्थानीय तह दृढतापूर्वक लागिरहेको बताउनुभएको छ । जेठ ९ र १० गते सम्पन्न दुई दिने “लैङ्गिक हिंसा प्रेषण प्रणाली पुनरावलोकन कार्यशाला” लाई सम्बोधन गर्दै उहाँले अझै पनि महिलाहरू विभिन्न प्रकारका हिंसाबाट प्रभावित भइरहनु दुःखद विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै सामाजिक चेतना, परिवार तथा समुदायस्तरको सहयोग र सामूहिक जिम्मेवारी आवश्यक रहेको धारणा राख्नुभयो । हिंसापीडित महिलाहरूलाई छिटो न्याय र आवश्यक सहयोग उपलब्ध गराउन प्रेषण प्रणालीलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
‘स्थानीय अधिकार कार्यक्रम’ अन्तर्गत आयोजित कार्यशालामा नगरपालिकाले हिंसा रोकथाम, पीडित संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको जानकारी दिइयो ।
कार्यक्रम संयोजक अजय चौधरीका अनुसार शिवराज नगरपालिका वडा नं. ४, १० र ११ मा विगत तीन वर्षदेखि लैङ्गिक हिंसा न्यूनीकरणका लागि परियोजना सञ्चालन हुँदै आएको छ । उक्त परियोजनामार्फत महिला तथा बालिकाको अधिकार संरक्षण, हिंसा रोकथाम र पीडितलाई न्यायमा पहुँच पुर्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।
कार्यशालाको सहजीकरण रिमा वि.सीले गर्नुभएको थियो । उहाँले लैङ्गिक हिंसा सम्बन्धी प्रेषण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष, न्यायिक समितिका पदाधिकारी, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यशाला सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा एक्सनएड नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























