महिला उद्यमशीलता प्रवर्द्धनमा टेवा : १६ महिलालाई साढे चार लाख सहयोग
चन्द्रौटा, कपिलवस्तु । आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित शिवराज नगरपालिकाका विभिन्न वडामा महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग वितरण गरिएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत १६ जना महिलालाई कुल चार लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरिएको हो ।
शिवराज नगरपालिका वडा नं. ११ नयाँबस्तीमा आयोजित कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष निसम अहमद खानले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
उहाँले प्राप्त सहयोगलाई सही ढंगले उपयोग गर्दै आयआर्जन वृद्धि, जीवनस्तर सुधार तथा समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक अजय चौधरीले स्थानीय अधिकार कार्यक्रममार्फत विपन्न, गरिब तथा पछाडि पारिएका समुदायका महिलाहरूलाई सशक्तीकरण गर्दै आर्थिक उत्थानमा जोड दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाहरूलाई पर्यावरणीय कृषि, तरकारी खेती तथा साना घरेलु व्यवसायमार्फत आत्मनिर्भर बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १० का वडा सदस्य गंगाराम कुर्मी र कृषि विकास शाखाकी चित्रा पोख्रेलले प्राप्त रकमको सदुपयोग गरे मात्रै गरिबी न्यूनीकरण सम्भव हुने धारणा राख्नुभयो ।
परियोजना संयोजक अजय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक परिचालक अमृता थारूले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























