कपुरी डेक्स कपिलवस्तु, शिवराज ।

करिब दुई वर्षअघि शिवराज नगरपालिकाले परिकल्पना गरेको गौरवको आयोजना “खैरीताल सौन्दर्यकरण परियोजना” अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने संकेत देखिएको छ ।

लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणा (सरोज थापा) ले परियोजना सञ्चालनका लागि आगामी बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता जनाएपछि योजना अघि बढ्ने बाटो खुलेको हो ।

शिवराज नगरपालिका वडा नं. ५ मा रहेको खैरी ताललाई पर्यटकीय तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले परियोजनाको अवधारणा अघि सारेको थियो ।

परियोजनाका लागि करिब ५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिनुभयो ।

मन्त्री रोजराणाले बालापुर क्षेत्रमा आयोजित हनुमान मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै खैरीतालको सौन्दर्यकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी बजेटमार्फत योजना कार्यान्वयनका लागि रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

स्थानीयवासीले समेत खैरीतालको संरक्षण तथा विकासले क्षेत्रको पर्यटन, वातावरण संरक्षण र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन् । नगरपालिकाले परियोजनालाई शिवराजको दीर्घकालीन गौरवको योजनाका रूपमा अघि बढाएको जनाएको छ ।