बाल शिक्षा मावि हल्लानगरको एसईई नतिजा कमजोर, सुधार गर्छु भन्दै आएका प्रअको कार्यक्षमतामाथि प्रश्न
कपुरी डेक्स कपिलवस्तु, शिवराज ।
शिवराज नगरपालिका वडा नं. २ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालय, हल्लानगरको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त कमजोर आएको छ । विद्यालयबाट परीक्षामा सहभागी ३८ जना विद्यार्थीमध्ये २ जना मात्र उत्तीर्ण भएका छन् ।

गत वर्ष २०८१ मा भने विद्यालयको नतिजा सन्तोषजनक रहेको थियो । उक्त वर्ष एसईईमा सहभागी २८ जना विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएका थिए । त्यस समयमा विद्यालयका प्रधानाध्यापक मेघनाथ अधिकारी रहेका थिए । हाल २०८२ सालमा विद्यालयको नेतृत्व प्रधानाध्यापक धुव्र कुमार खङ्काले गरिरहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बुढाले नतिजा राम्रो आउँदा समेत नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापक परिवर्तन गरेको भन्दै दुखेसो पोख्नुभयो । उहाँले विज्ञान विषयका शिक्षक मेहनती र समयमै काम गर्ने भए पनि कोचिङ कक्षा सञ्चालन हुँदा अभिभावकहरूले आफ्ना बालबालिकालाई नियमित रूपमा कक्षामा पठाउने विषयमा पर्याप्त चासो नदिएको बताउनुभयो ।
यता प्रधानाध्यापक खङ्काकी श्रीमती समेत सोही विद्यालयमा अध्यापन गराउने गरेका कारण विद्यालय प्रशासन फितलो बनेको नाम नलेख्ने सर्तमा एक शिक्षकले बताएका छन् ।
श्रीमान-श्रीमती एउटै विद्यालयमा अध्यापन गराउने विषयले धेरै कुरा असहज भएको विद्यालय व्यवस्थापन समितिले समेत स्वीकार गरेको स्रोतको भनाइ छ । समितिका अध्यक्ष बुढाले यस विषयमा नगरपालिका शिक्षा शाखालाई समेत जानकारी गराइएको बताउनुभयो ।
कमजोर नतिजापछि विद्यालयको पठनपाठन, प्रशासनिक व्यवस्थापन तथा शैक्षिक वातावरणबारे स्थानीय स्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन् । स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालय प्रशासन, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
साथै “विद्यालयको शैक्षिक सुधार गर्छु” भन्दै आएका प्रधानाध्यापकको कार्यक्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























