अस्पतालको ३८ लाख हिनामिना प्रकरणमा ५ पक्राउ
कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको आर्थिक कारोबारमा अनियमितता भएको आरोपमा अस्पताल तथा नेपाल बैंकका ५ जना कर्मचारी पक्राउ परेका छन्।
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा हिनामिना भएको भन्दै मिति २०८३ वैशाख ४ गते अनुसन्धानका लागि उजुरी दिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्री वापत उठेको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा हुनुपर्नेमा १२९ थान भौचरअनुसारको रु. ३८ लाख १९ हजार ७ सय ७० रकम बैंकमा जम्मा नभएको भेटिएको प्रहरीले जनाएको छ।
लेखा परीक्षणका क्रममा बैंक भौचर फाइलमा भए पनि सो बराबरको रकम बैंक खातामा जम्मा नभएको पुष्टि भएपछि शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेल्बासेले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएका थिए।
उक्त जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले अनुसन्धान अघि बढाउँदै सरकारी अस्पतालको नक्कली भौचर बनाई संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकामाथि कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, नेपाल बैंक चन्द्रौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक रुक्सना खातुन तथा नेपाल बैंकका कार्यालय सहयोगी बिक्रम के.सी. रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























