मेयर रोजगार कार्यक्रम अन्तर्गत तीन पाङ्ग्रे सवारी चालक तालिम सुरु
दिपक खङ्का
शिवराज नगरपालिका अन्तर्गत सञ्चालन भइरहेको मेयर रोजगार कार्यक्रममार्फत छोटो अवधिको तीन पाङ्ग्रे सवारी चालक अनुमति पत्र (C र C1) ट्रायल सम्बन्धी पूर्व तयारी सिकाइ (ड्राइभिङ) तालिम सुरु गरिएको छ।
नगरपालिकाले विनियोजित बजेटबाट खर्च व्यवस्थापन गर्दै बेरोजगार युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त तालिम सञ्चालन गरेको जनाएको छ।
तालिम उद्घाटन कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सीपमूलक तालिमले युवाहरूलाई रोजगारीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले नगरपालिकाले युवालाई वैदेशिक रोजगारीमा मात्र निर्भर नभई आफ्नै ठाउँमा आयआर्जन गर्ने वातावरण सिर्जना गर्न विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँ तथा कार्यपालिका सदस्य बुद्धिकला भण्डारीको समेत उपस्थिति रहेको थियो। साथै ट्राफिक प्रहरी चन्द्रौटाका गोविन्द पौडेलको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य शुभाष यादवले गर्नुभएको थियो। उपस्थित वक्ताहरूले तालिमलाई प्रभावकारी रूपमा सम्पन्न गर्दै सहभागीलाई व्यवहारिक ज्ञान र दक्षता प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।
तालिममा सहभागी युवाहरूलाई ट्रायलका लागि आवश्यक आधारभूत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने जनाइएको छ। यस तालिमपछि सहभागीहरूले सवारी चालक अनुमति पत्र प्राप्त गरी पेशागत रूपमा काम गर्न सहज हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
स्थानीय तहले सञ्चालन गरेका यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरण गर्नुका साथै युवाहरूमा आत्मविश्वास र सीप विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























