हिंसाविरुद्ध नयाँ पहल : महिला, बालबालिका र किशोरीलाई सुरक्षित वातावरण
दिपक खड्का ।
कपिलवस्तुको शिवराज नगरपालिकामा महिला, बालबालिका तथा किशोरीमाथि हुने हिंसाविरुद्ध सकारात्मक कदम चालिएको छ। सहयोग तथा सिफारिस प्रणालीबारेको कार्यक्रमले पीडितलाई सजिलो पहुँच र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्य राखेको छ। यस पहलले स्थानीय समुदायमा आशा र सुरक्षाको भावना बढाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम UNICEF को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको थियो। अध्यक्षतामा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी हुनुहुन्थ्यो भने प्रमुख अतिथिका रूपमा नगरप्रमुख अजय थापा उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र सम्पूर्ण वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला, बालबालिका तथा किशोरीमाथि हुने हिंसाका विभिन्न प्रकार, रोकथामका उपाय र पीडितलाई सहयोग पुर्याउने प्रभावकारी संयन्त्रबारे छलफल गरिएको थियो। सहभागीहरूले उजुरी दर्ता, परामर्श सेवा, कानुनी सहयोग र पुनर्स्थापनाका लागि सिफारिस प्रणाली अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा धनिश्वरा घर्ती ले जानकारी प्रस्तुत गर्नुभएको थियो भने नारायण घिमिरे ले कार्यक्रमको प्रस्तुति सम्हाल्नुभयो। यसले सहभागीहरूलाई प्रभावकारी छलफलमा भाग लिन मद्दत पुर्याएको थियो।
नगरप्रमुख अजय थापाले स्थानीय सरकार पीडितमैत्री सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो भने उपप्रमुख शिवकुमारी ले सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रम संचालन शिवराज महिला तथा बालबालिका शाखा कि जिवा के.सी ले गर्नुभएको थियो।
यस पहलले महिलामात्र नभई बालबालिका र किशोरीका लागि सुरक्षित वातावरण सिर्जना गर्ने, सचेतना अभिवृद्धि गर्ने र सहयोग प्रणाली सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक संदेश फैलाउँदै हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























