दिपक खड्का ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले हाल देखिएको ग्यास अभावको समस्यालाई ध्यानमा राख्दै १०० परिवारलाई विद्युतिय (इन्डक्सन) चुलो वितरण गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, शिवराज नगरपालिका र हरित जलवायु कोषको सहकार्यमा उक्त चुलो वितरण गरिएको हो।

ग्यासको अभावका कारण दैनिक जीवन प्रभावित भइरहेका बेला वैकल्पिक उपायका रूपमा विद्युतिय चुलो वितरण गरिएको बताइएको छ। आवेदन दिएका उपभोक्तामध्ये पहिलो चरणमा १०० जनालाई छनोट गरी चुलो हस्तान्तरण गरिएको हो भने बाँकी उपभोक्तालाई पनि क्रमशः उपलब्ध गराइने योजना रहेको जनाइएको छ।

वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले ग्यास अभावको समयमा नागरिकलाई राहत दिन यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार आगामी बैशाख महिनाको अन्त्यसम्म अन्य उपभोक्तालाई समेत चुलो वितरण गरिनेछ।

उहाँले विद्युतिय चुलो प्रयोगले ग्यास र दाउरामा निर्भरता घटाउने, धुवाँजन्य समस्या कम गर्ने तथा वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उपभोक्तालाई सुरक्षित रूपमा चुलो प्रयोग गर्न आग्रह समेत गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले ग्यास अभावको समयमा विद्युतिय चुलो प्रभावकारी विकल्प बनेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्।

यस पहलले गाउँघरमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै स्वच्छ ऊर्जाको प्रयोग बढाउने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।