म टुरिस्ट उम्मेदवार होइन : कपिलवस्तु–३ मा शाहको दाबी
कपिलवस्तु — अभिषेक प्रताप शाह ले आफू अन्यजस्तो “टुरिस्ट उम्मेदवार” नभई सधैं जनतासँगै रहने व्यक्ति भएको बताएका छन्। कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका उनले चुनाव जिते पनि हारे पनि नागरिकको सेवामा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरे।
कपिलवस्तुको बहादुरगन्ज मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले भने,
“म टुरिस्ट उम्मेदवार होइन, म जनताको सेवक हुँ। जनताको काम गर्नकै लागि मैदानमा आएको हुँ।”
उनले कसैको टिकाटिप्पणीमा अल्झिनुभन्दा आम नागरिकका आवश्यकता, समस्या तथा क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताए।
विगतको निर्वाचनमा आफ्नो पक्षमा राम्रो माहोल हुँदाहुँदै पनि केही कमजोरीका कारण जित हासिल गर्न नसकेको स्वीकार गर्दै उनले ती कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
आगामी दिनमा सबै समुदाय र पक्षलाई समेट्दै क्षेत्रको दिगो विकासका लागि एकजुट भएर अघि बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा हुमाकान्त खनाल, प्रेम रायमाझी र रजत शाह लगायतका नेताहरूले पनि सम्बोधन गर्दै शाहको उम्मेदवारीलाई सफल बनाउन आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























