चन्द्रौटा, कपिलवस्तु ।
मिति २०८२ साल माघ ४ गते आइतबार, जेसिजको नवौँ साधारण सभा तथा आठौँ शाखा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम जेसिज वर्ष २०२५ का अध्यक्ष रविन पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारण सभा तथा अधिवेशनमा जेसिजका संस्थापक अध्यक्ष सरोज पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले जेसिजले युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।
अधिवेशनले सन् २०२६ का लागि कबिराज अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सो अवसरमा सन् २०२६ का अध्यक्ष रविन पौडेलले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको लक्ष्य र उद्देश्यअनुरूप सक्रिय, उत्तरदायी र परिणाममुखी भएर काम गर्न आग्रह गर्नुभयो।
साधारण सभा तथा अधिवेशनमा ३६ जना जेसिज सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति समीक्षा, भावी कार्ययोजना तथा संगठन सुदृढीकरणसम्बन्धी विविध विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रम समापनका अवसरमा नवनिर्वाचित अध्यक्ष कबिराज अधिकारीले जेसिजमार्फत युवाहरूलाई नेतृत्व, सेवा र सकारात्मक सोचतर्फ प्रेरित गर्दै संस्थालाई अझ प्रभावकारी र गतिशील बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।