कपुरी डेक्स ।

कपिलवस्तुको शिवराज नगरपालिका–४ बनकट्टीकी लक्ष्मी बिकले कार्तिक ११ गते सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफू मिटरब्याजको सिकार भएको दाबी गरिन्। उनले बाणगंगाका सुशील खत्रीमाथि आफ्नो घर–जग्गा कब्जा गरेको आरोप लगाइन्। भिडियो भाइरल बनेपछि ‘वित्तीय शोषणको सिकार’ भन्दै लघुवित्तविरुद्ध प्रदर्शनसमेत भयो।

तर, दुई दिनमै घटनाले नयाँ मोड लियो। लक्ष्मीकी आफ्नै छोरी रन्जना बिक मिडियामा आइन र आमाकै विरोधमा बोलेकी थिइन्।

 घटनाको सुरुवात : मिटरब्याजको विवाद

लक्ष्मी बिकका अनुसार, २०८० जेठ २४ गते उनले सुशील खत्रीसँग १८ लाख रुपैयाँ सैकडा ४ को ब्याजदरमा दुई वर्षका लागि ऋण लिएकी थिइन्। उनका भनाइ अनुसार उनले १६ महिनासम्म ११ लाख ५२ हजार रुपैयाँ ब्याज बुझाइसकेकी थिइन्।

तर, छोरी रन्जना बिक का अनुसार आमाले जम्मा ६–७ महिनाको ब्याज मात्र बुझाएकी थिइन् र बाँकी रकम तिर्न नपाउँदै जेल गएकी थिइन्। उनका भनाइमा, सुशील खत्रीको नाममा पास भएको ९ धुरको दुईतले घर मान बहादुर बिकलाई रु. ३३ लाखमा बिक्री गरिएको थियो। त्यसमा सुशीलले आफ्नो सावा १८ लाख राखी बाँकी पैसा लक्ष्मीको परिवारलाई दिएको र सो पैसाले आमालाई जेलबाट निकालिएको उनले दाबी गरिन्।

रन्जनाका अनुसार, आमा बाहिर आएपछि केही व्यक्तिको उक्साहटमा घर अगाडि ब्यानर टाँगेर विरोध गर्न थालेकी थिइन्।

 ‘पीडित’ होइन ‘योजनाकारी’ ?

रन्जनाले मिडियामार्फत आमाकै योजनाको पर्दाफास गरेपछि घटनाको नयाँ आयाम खुलेको छ। उनका अनुसार लक्ष्मी बिक अरूलाई फसाउने र मिटरब्याजको नाटक गर्ने प्रवृत्तिकी हुन्।

पुराना काण्डहरू : बाघको छालादेखि मानव बेचबिखनसम्म

लक्ष्मी बिकको नाम यसअघि पनि गम्भीर अपराधहरूमा मुछिएको प्रहरीले जनाएको छ।
मिति २०८१ मंसिर ९ गते इलाका प्रहरी कार्यालय चन्द्रौटाले प्राप्त विशेष सूचनाका आधारमा हल्लानगरस्थित करुणा रेस्टुरेन्ट एण्ड लज अगाडि निगरानी गर्दा बुटवलका विष्णु भट्टराईलाई बाघको छाला सहित पक्राउ गरिएको थियो।

अनुसन्धान क्रममा उक्त अपराधको मुख्य योजनाकार लक्ष्मी बिक नै रहेको खुलेपछि उनलाई समेत पक्राउ गरिएको थियो। हाल उनी धरौटीमा बाहिर रहेको प्रहरी स्रोतले जनाएको छ।

त्यसभन्दा अघि पनि लक्ष्मी चेलीबेटी बेचबिखन आरोपमा जेल जीवन बिताइसकेकी थिइन्।

 स्थानीयहरूको भनाइ

स्थानीयका अनुसार, जेलबाट निस्किएपछि उनले महिलालाई सहयोगको आश्वासन दिई जग्गा र ऋण ठगी गर्ने काम सुरु गरेकी थिइन्।
एक महिलाले भनिन् –

“उनी ‘सहयोग गर्छु’ भन्दै आउँथिन्, पछि जग्गा आफ्नो नाममा पास गराएर बेच्थिन्।”

अर्की पीडित महिलाले पनि १२ लाख रुपैयाँ लगेको पाँच वर्ष बितिसक्दा समेत फिर्ता नपाएको गुनासो गरेकी छन्।