मर्यादित श्रम अधिकार सुनिश्चितताका लागि दबाबमूलक र्याली सम्पन्न
असोज २६ गते, चन्द्रौटा
कपिलवस्तुको शिवराज, चन्द्रौटामा मर्यादित श्रम अधिकार सुनिश्चितताका लागि दबाबमूलक र्याली सम्पन्न भएको छ।
राज्यले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको सहज नेपालकी उपाध्यक्ष तथा दलित महिला अधिकारकर्मी मिना परियारले बताउनुभयो।
त्यस्तै, शिवराज नगरपालिकाले श्रमिक महिलाहरूको पक्षमा विशेष कानुन निर्माणको तयारीमा रहेको महिला शाखा प्रमुख जिवा केसीले जानकारी दिनुभयो।
“समान कामको समान ज्याला” भन्ने नारासहित शिवराज नगरपालिकाको दुर्गा मन्दिरबाट सुरु भएको र्याली चन्द्रौटा चोकमा कोणसभाका रूपमा सम्पन्न भएको थियो। कोणसभामा श्रमिक महिलाहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने, कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्नुपर्ने र शिवराजलाई श्रमशोषणमुक्त नगरपालिका घोषणा गर्नुपर्ने मागहरू राखेका थिए।
शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा तथा शिवराज महिला श्रमिक सञ्जालको आयोजनामा सम्पन्न कोणसभा सृष्टि घिमिरेको अध्यक्षता, सहायक कार्यक्रम अधिकृत सञ्जीव गहतराजको स्वागत र सामाजिक परिचालक सबिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























