शिवराज ६ मा रहेको यशोधा फुड्सका मजदुर आन्दोलित : पारिश्रमिकमा विभेदको आरोप।
कपिलवस्तुको शिवराज नगरपालिका–६ विरपुरस्थित यशोधा फुड्स प्रालिमा कार्यरत सयौँ मजदुर सेवा-सुविधा नपाएको भन्दै गत बिहीबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
कामदारहरूले पारिश्रमिक समयमा नपाउने विभेद गर्ने महिलामैत्री सुविधा नदिने सामान्य चोटपटकमा उपचारको व्यवस्था नगर्ने लगायतका गुनासो राख्दै उद्योगको मूलगेटमै धर्ना तथा नाराबाजी गरिरहेका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म काममा फर्कने अवस्था नरहेको चेतावनी दिएका छन् ।
बर्षौँदेखि सोही कम्पनीमा कार्यरत कमलेश गुप्ताले दैनिक १२ घण्टा काम गरे पनि पारिश्रमिक न्यून दरमा (७५० रुपैयाँ) दिइने र त्यो पनि समयमा नपाइने समस्या रहेको बताए । यस्तै अर्जुन थारुले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।
महिला कामदार शर्मिला रावतले रात्रीकालीन समयमा काम गर्दा पनि सरकारले तोकेको दरअनुसार पारिश्रमिक नपाएको बताइन् । उनले तीजलगायत चाडपर्वमा समेत सुविधा नपाउँदा पीडा थपिएको बताइन् । उनका अनुसार उद्योगले दिएको प्याड गुणस्तरहीन र न्यून मात्रामा भएकोले समस्या गम्भीर हुने गरेको छ । डेढ वर्षदेखि काम गर्दै आएकी पुजा चौधरीले काम गर्न जाँदा “आज काम छैन” भन्दै फर्काइने प्रचलनले दैनिक आवतजावतमा समस्या हुने बताइन् ।
उनका अनुसार अन्य ठाउँका कामदारलाई ९ सय रुपैयाँका दरले पारिश्रमिक दिइने भए पनि स्थानीय कामदारलाई मात्र ७५० रुपैयाँ दिइएको छ ।
शुक्रबार आन्दोलनरत मजदुरहरू नगरप्रमुख अजय थापासमक्ष पुगेका थिए । मजदुरको गुनासो सुनेपछि नगरप्रमुख थापाले कुनै पनि मजदुर अन्यायमा नपर्नुपर्ने बताउँदै उद्योग व्यवस्थापनलाई तुरुन्त माग सम्बोधन गर्न निर्देशन दिएका छन् । नगरपालिकाले न्यूनतम पारिश्रमिक कार्यान्वयन र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनसम्बन्धी सूचना पनि जारी गरेको छ ।

Oplus_131072
यशोधा फुड्स प्रालिका प्रतिनिधि गणेश भट्टले मजदुर व्यवस्थापन गर्ने जिम्मा ठेकेदारलाई दिइएको भन्दै उद्योगको प्रत्यक्ष जिम्मेवारी नभएको दाबी गरेका छन् । उनले आन्दोलन चर्किए सम्झौता भंग गर्ने चेतावनीसमेत दिएका छन् ।
कामदार व्यवस्थापनको जिम्मा पाएको अंगिता मेनपावर पक्षका अर्जुन चौधरीले आन्दोलनबारे ढिलो जानकारी पाएको भन्दै माग सम्बोधन गरी मजदुरलाई काममा फर्काउने तयारी भइरहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























