शिवराजमा बृहत् रक्तदान, ११५ जनाले गरे रगतदान
शिवराज नगरपालिका-५ चन्द्रौटामा राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १ सय १५ जनाले रगतदान गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष नारायण सापकोटाले दिउँसो १ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य सुशील श्रीवास्तवले राजनीतिक परिवर्तनका आन्दोलनमा रगत बगाएका युवाहरू अहिले रक्तदानजस्ता मानवीय सेवामा अग्रसर हुनु प्रेरणादायी रहेको बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले रक्तदानलाई मानवताको दृष्टिकोणले पुण्य कार्य भन्दै नियमित रक्तदान गर्नाले अरूको जीवन बचाउनुका साथै आफ्नै स्वास्थ्यमा समेत लाभ पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिवराज नगर अध्यक्ष नारायण सापकोटा, युवा संघका जिल्ला सह-इन्चार्ज गोपाल मणि ज्ञवाली, केन्द्रीय सदस्य विष्णु हमाल, जिल्ला अध्यक्ष तिलक गिरी लगायतका नेताहरूले समेत रक्तदान अभियानलाई ऐतिहासिक र प्रेरणादायी भन्दै युवाको भूमिकाको प्रशंसा गर्नभयो । रक्तदान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, समाजसेवी अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता र सक्रिय सहभागिता रहेको थियो।
शिवराज आधारभूत सेवा अस्पताल चन्द्रौटामा सम्पन्न रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























