विजयनगरमा LISP कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन, पूर्वाधार विकासमा जनसहभागिता बलियो
कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्थानीय पूर्वाधार सहयोग (LISP) कार्यक्रम अन्तर्गत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत वडा नं. ६ खडैचा–खजहनी–छुटपाटीसम्मको कालोपत्रे सडक तथा वडा नं. ७ ढोढरी–बडसडवा हुँदै वडा नं. ५ बनगाइ–हुलाकी मार्गसम्मको कालोपत्रे सडक निर्माण कार्यको अनुगमन गरिएको थियो। साथै, अधूरा सडक निर्माण तथा अन्य पूर्वाधार विकास योजनाको प्रभावकारिता र गुणस्तरबारे समीक्षा गरियो।
मुख्य अतिथि गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले LISP कार्यक्रमले स्थानीय पूर्वाधार विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस वर्ष ३ करोड रुपैयाँको बजेटसँगै थप १ करोड रुपैयाँ विनियोजन गरी विकास कार्यलाई अझ सशक्त बनाउने योजना रहेको जानकारी दिए। उनले स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाएर योजनाहरू अघि बढाइनेमा जोड दिए।
उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समुदायको सक्रिय सहभागिता नै कार्यक्रम सफलताको मेरुदण्ड भएको बताउँदै गुणस्तरीय पूर्वाधारले वर्तमान मात्र नभई भविष्यका पुस्ताको जीवनस्तरमा समेत दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरिन्।
बेलायती राजदूतावासकी सामाजिक क्षेत्र सल्लाहकार कमला केशीले LISP कार्यक्रमले ग्रामीण क्षेत्रमा दिगो समृद्धि ल्याउने उल्लेख गर्दै स्थानीय तहमा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार भएको भनाइ राखिन्।
संघीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधि प्रलाद अधिकारीले योजनाको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष प्रेमबहादुर कलवार, वडा नं. ७ का अध्यक्ष दिनेश कुमार चौधरी, लेखा शाखा प्रमुख हिमाकान्त आचार्य, इन्जिनियर नविन डुम्रे लगायतका सहभागिता रहेको थियो।
अनुगमन तथा अन्तरक्रिया क्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, पुल–पुलिया, स्वास्थ्य र शिक्षा क्षेत्रमा थप प्राथमिकता दिनुपर्ने माग राखे। उनीहरूले पूर्वाधारको पहुँच र गुणस्तर स्थानीय आवश्यकता र अपेक्षाअनुसार सुधार गर्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























