कपिलवस्तु, साउन २५ – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतनाको उद्देश्यसहित शिवराज नगर युवा परिषद्ले साइकलिङ मार्ग घोषणा कार्यक्रम गर्ने भएको छ।

शिवराज नगरपालिकाबाट जारी सूचनाअनुसार कार्यक्रम आगामी २०८२ साउन २७ गते मंगलबार बिहान ७ः३० बजे सुरु हुनेछ। कार्यक्रमको स्थान शिवराज नगरपालिका-३ पृथ्वी चौक खरन्द्रपुर तोकिएको छ। भने कार्यक्रमको अन्तिम बिन्दु उमेरी गुफा तोकिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले नगरका युवादेखि सर्वसाधारणसम्मको सहभागिताले यो अभियान सफल हुने विश्वास व्यक्त गर्दै उपस्थितिको आग्रह गरेका गर्नुभयो ।

“यो कार्यक्रमले नगरभित्र स्वास्थ्यप्रति सचेतना बढाउने मात्र नभई पर्यटकीय सम्भावनाको प्रचार-प्रसारमा टेवा पुर्‍याउनेछ,” पौडेलले भन्नुभयो ।

आयोजक समितिका अनुसार साइकलिङ मार्ग घोषणा अभियानले स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र वातावरण संरक्षणबारे सन्देश प्रवाह गर्नेछ।

अन्तर्राष्ट्रिय युवा दिवसलाई अर्थपूर्ण बनाउन यो कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।