शिवराजमा श्रम अधिकारमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न
शिवराज नगरपालिका वडा नं. १, शिवपुरमा श्रम ऐन, २०७४ अन्तर्गत श्रमिकका अधिकारहरूबारे एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शिवराज नगरपालिकाको आयोजनामा तथा सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त अन्तरक्रियामा श्रमिक वर्ग, रोजगारदाता, जनप्रतिनिधि, श्रमसँग सम्बन्धित संघ–संस्था, होटल तथा निर्माण व्यवसायी, नागरिक समाजका प्रतिनिधि र अन्य स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा न्यूनतम पारिश्रमिकको व्यवस्था, सुरक्षित कार्यस्थल, श्रम सम्झौता, सामाजिक सुरक्षा कोषमा सहभागीता, मातृत्व सुविधा तथा कार्यस्थलमा हुने दुव्र्यवहारविरुद्ध कानुनी सुरक्षा लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेलले श्रमिक अधिकारलाई मानव अधिकारकै एक अभिन्न अङ्गको रूपमा व्याख्या गर्दै कानुनी चेतनाको पहुँच अझ फैलाउनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “श्रम ऐन २०७४ केवल कानुनी दस्तावेज मात्र होइन, श्रमिकको जीवनस्तर उकास्ने माध्यम हो। तर यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सबै पक्षको सहकार्य बिना सम्भव छैन। श्रमिकको अधिकार सुनिश्चित गर्नु भनेको सामाजिक न्यायलाई बलियो बनाउनु हो।”
शिवराज नगर प्रमुख अजय थापाले श्रमिक हितमा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले श्रमिकमैत्री नीतिहरू अगामी दिनहरूमा अझ सशक्त ढङ्गले लागू गरिने जानकारी दिनुभयो।
हाल लागू पारिश्रमिक दरअनुसार श्रमिकको न्यूनतम मासिक तलब रु १९,५५०, दैनिक रु ७५४ र प्रतिघन्टा रु १०१ हुनुपर्ने व्यवस्था छ।
कार्यक्रमका अर्का वक्ता, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले श्रमिक हक र कानुनबारे सर्वसाधारणमा व्यापक जनचेतना फैलाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो। एक्सन एड नेपालका प्रतिनिधिले पनि श्रमिक अधिकार सबै सरोकारवालाको साझा उत्तरदायित्व भएको बताउँदै यस्ता कार्यक्रम श्रमिक–नियोक्ता सम्बन्ध सुधारमा सहायक हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा सहभागीहरूले श्रमिक अधिकार सुनिश्चित गर्ने नगरस्तरीय पहलहरूको स्वागत गर्दै, यस्ता कार्यक्रम निरन्तर भइरहने अपेक्षा व्यक्त गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























